काठमाडौँ । काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनको अवस्थिति र आइपुग्ने समयबारे जानकारी दिने ‘केटीएम पब्लिक ट्रान्स्पोर्ट’ मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ। बुधबार आयोजित संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद् अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त एप्लिकेसन सार्वजनिक गरेकी हुन्। हाल जीपीएस जडान भएका करिब १ हजार २ सय सवारीसाधनबारे जानकारी लिन सकिने यो प्रणालीलाई क्रमशः विस्तार गर्दै लैजाने परिषद्को योजना छ।
बैठकमा डंगोलले उपत्यकाको यातायात प्रणालीलाई सरल, सहज, पहुँचयुक्त बनाउन तथा रात्रिकालीन एवं बिहानीपखको सेवा विस्तार गर्न स्थानीय तहहरूबीच वित्तीय साझेदारी र समन्वय हुनुपर्नेमा जोड दिइन्। यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुलाई सहजताको अनुभूति गराउने प्रणाली निर्माणमा परिषद्को क्षमता प्रयोग गर्नुपर्ने बताए।
बैठकमा सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका कार्यकारी अधिकृत कुवेर नेपालीले चालू आर्थिक वर्षमा बस स्टप र पिक–ड्रप प्वाइन्ट निर्धारण, रात्रिकालीन बस सञ्चालन, नगदरहित भाडादर लागू गर्न कानुनी पूर्वाधार तयार गर्ने तथा मुख्य बस स्टपहरूमा जीपीएस ट्र्याकिङमा आधारित सूचना प्रणाली जडान गर्ने जस्ता कार्यक्रम स्वीकृत भएको जानकारी दिए।
‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९’ अनुसार गठित ३५ सदस्यीय यस परिषद्को कार्यसम्पादन चुस्त बनाउन काठमाडौँ महानगरप्रमुखको अध्यक्षतामा ९ सदस्यीय स्टेयरिङ कमिटी क्रियाशील रहेको छ।




