कोशी । भोजपुर जिल्लामा सञ्चालन भएका विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रमले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभा अन्तर्गतको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ र ‘सुन्तला जोन’ सञ्चालन गर्दै आएको छ।
जोन प्राविधिक एकाइ भोजपुरका प्रमुख कौसिला विष्टका अनुसार गत आर्थिक वर्ष २०८२–८३ मा मात्र विभिन्न शीर्षकमा १०९ जना किसानले अनुदान सहयोग प्राप्त गरेका छन्। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रममार्फत भोजपुर–५ की सङ्गीता श्रेष्ठले ४ लाख अनुदान र ५० प्रतिशत लागत साझेदारीमा १०० रोपनीमा व्यावसायिक तरकारी र खुर्सानी खेती गर्दै आएकी छन्। यस्तै, अन्य ५ वटा कृषि फर्मलाई पनि ४–४ लाखका दरले अनुदान दिइएको छ।
भोजपुर–३ गुप्तेश्वरका किसान हरिप्रसाद प्रधानले पक्की सिँचाइ पोखरी निर्माण गरी २० रोपनीमा ५०० सुन्तलाका बिरुवा रोपेका छन्। भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले र जिल्ला समन्वय समिति भोजपुरका उपप्रमुख अनिशा खड्काले अनुदानले किसानलाई व्यावसायिक बन्न टेवा पुगेको बताएका छन्।
गत आवमा सिँचाइ कार्यक्रमबाट ५४ जना किसान लाभान्वित भएका छन् भने ३० वटा आधुनिक अलैँची भट्टी वितरण गरिएको छ। सुन्तला बाली क्षेत्र विस्तारअन्तर्गत ११ वटा कृषि फर्मले अनुदान पाएका छन्। रामप्रसादराई गाउँपालिका–६ मा रैथाने बालीअन्तर्गत कोदोको बिस्कुट उत्पादन सुरु गरिएको छ भने चक्लाबन्दी कार्यक्रममार्फत १०२ रोपनीमा ५५ हजार अलैँचीका बिरुवा रोपिएको छ।




