आरक्ष विस्थापितको समस्या समाधान गर्न आयोग गठन हुने: मन्त्री रावल

प्रकाशित मिति:

कञ्चनपुर। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापित भएकाहरूको समस्या समाधानका लागि एक-डेढ साताभित्रै आयोग गठन हुने बताएकी छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आरक्ष विस्थापितहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री रावलले पीडितको मागअनुसार सरकारले आयोग गठन गरेर स्थायी निकास निकाल्न लागेको जानकारी दिइन्। समस्या समाधानको प्रक्रिया अघि बढेकाले काठमाडौँ धाउनु नपर्ने उल्लेख गर्दै उनले विस्थापितहरूलाई आन्दोलनका कार्यक्रम छाडेर आयोगलाई सहयोग गर्न आग्रह गरिन्।

यस्तै, मन्त्री रावलले कञ्चनपुरका विभिन्न पालिकाका भूमिहीन सुकुमवासीहरूसँग भेट गरी कानुनी सुधार भइसकेकाले जिल्ला भूमि आयोगमार्फत छिट्टै लालपुर्जा वितरण गरिने आश्वासन दिइन्। सो क्रममा उनले निर्माणाधीन मझगाउँ विमानस्थल र दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरेकी छन्।

ताजा समाचार