काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो, लेदो र नदी कटानका कारण देशका विभिन्न ठाउँमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार मङ्गलबार बिहान १० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका सडकखण्ड अवरुद्ध भएका छन्।
काभ्रेपलाञ्चोक हुँदै चल्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सो राजमार्गमा बिहान ४ देखि बेलुका ६ बजेसम्म मात्र गाडी चल्न दिइएको छ।
यसैगरी मकवानपुरको कान्ति लोकपथमा पनि राति ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन बन्द गरिएको छ।
वर्षाका कारण इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलो भएका कारण पूर्ण रूपमा अवरुद्ध छ। उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङ बजारस्थित अरनिको राजमार्गमा भदौ ५ गते खहरे खोलाबाट आएको पहिरो र लेदोले सडक ठप्प छ।
यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीको कटानका कारण बन्द भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा सडक माथिबाट लेदो र ढुङ्गा आएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले सडक जोखिमपूर्ण रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।





