काठमाडौं । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ। उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने भएका छन्।
संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्दैछन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्ने तय भएको छ।
यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्ना तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरू वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्न नाम टिपाएका छन्। श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न सोध्नेछिन्। प्रश्नकर्ता सांसदहरूले आफ्ना प्रश्न संसद् सचिवालयमा दर्ता गराइसकेका छन्।
यसअघि भदौ १ गतेको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रश्नोत्तरका लागि समय निर्धारण गरेका थिए। प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तोकिने व्यवस्था छ।
नियमावलीको दफा ५७ मा यो कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न सकिने र दफा ५८ अनुसार बैठकभन्दा तीन दिन अगावै प्रश्न दर्ता गर्नुपर्ने नियम छ। सोहीअनुसार सभामुख अर्यालले भदौ ५ गतेभित्र समय दिएकामा ११ जना सांसदको मात्र प्रश्न दर्ता भएको हो। नियमावलीअनुसार १५ जनासम्मले प्रश्न सोध्न पाउने र रास्वपाबाट ७ जनाको कोटा भए पनि ३ जनाले मात्र दर्ता गराएका हुन्।
दफा ५९ अनुसार प्रश्नको स्वीकार्यताको निर्णय सभामुखले गर्नेछन् भने दफा ६० अनुसार प्रधानमन्त्रीले दिएको जवाफमाथि सभामा कुनै छलफल हुने छैन।





