काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चश्मा लगाउनुपर्ने कारण खुलाएर चिकित्सकको रिपोर्टसहित संसद सचिवालयलाई पत्र पठाएका छन्। उहाँले चिकित्सकको रिपोर्टसहितको पत्र पठाएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
केही दिनअघि कार्यव्यवस्था समितिको बैठकमा सभामुख डिपी अर्यालले सांसदहरूलाई संसद बैठकमा आउँदा कालो चश्मा नलगाउन निर्देशन दिएका थिए। आँखाको समस्याका कारण लगाउनैपर्ने भएमा डाक्टरको रिपोर्ट पेस गर्नुपर्ने उनले बताएका थिए। त्यही बमोजिम प्रधानमन्त्री शाहले सचिवालयलाई पत्र पठाएका हुन्।
प्रधानमन्त्री शाह भोलि संसद बैठकमा सहभागी हुने कार्यक्रम छ। उनले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन्। बैठकमा प्रधानमन्त्री शाह कालो चश्मा लगाएरै आउने भएका छन्। आफूलाई आँखाको सुख्खापनका कारण उज्यालोमा हेर्न समस्या हुने भएकाले कालो चश्मा लगाउनुपरेको प्रधानमन्त्रीले पत्रमा उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले दिएको मेडिकल रिपोर्ट पनि पेस गरेका छन्।
डा. ढकालको रिपोर्टमा लेखिएको छ, ‘माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने समस्याका सम्बन्धमा मैले परीक्षण गरेको छु। परीक्षणका क्रममा उहाँमा ड्राइ आई डिजिज (आँखा सुख्खा हुने समस्या) देखिएको छ। उक्त समस्याका लागि उहाँलाई आवश्यकताअनुसार बारम्बार प्रयोग गर्ने गरी कार्बोक्सिमिथाइलसेलुलोज ०.५ प्रतिशतको आँखामा हाल्ने ड्रप प्रयोग गर्न सल्लाह दिइएको छ। साथै, उज्यालो प्रकाश भएको वातावरणमा रहँदा समस्या कम गर्न आँखाको सुरक्षाका लागि सनग्लास/चस्मा (शेड्स) प्रयोग गर्न पनि सुझाव दिइएको छ।’





