कञ्चनपुर । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पर्यटकीय गतिविधि बढेसँगै अध्यागमन कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा रु १ करोड ५ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
अध्यागमन कार्यालयका अनुसार विगतका वर्षहरूको तुलनामा पछिल्लो समय यो नाका भई नेपाल भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकहरूको सङ्ख्या बढ्दै गएको हो। पर्यटक आगमनमा भएको वृद्धिसँगै भिसा शुल्कबापत सङ्कलन हुने राजस्वमा समेत वृद्धि भएको हो।
विशेषगरी भारत भई नेपालका प्रमुख पर्यटकीय स्थलहरू (जस्तै: पोखरा, काठमाडौँ, लुम्बिनी तथा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरू) भ्रमण गर्न आउने पर्यटकहरूका लागि गड्डाचौकी नाका सुलभ र सहज मार्ग बन्दै गएको छ। नाकामा पर्यटकहरूका लागि आवश्यक सेवा-सुविधा र सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन सकिएमा आगामी वर्षहरूमा पर्यटक आगमन र राजस्व संकलन अझै बढ्ने स्थानीय व्यवसायीहरूको अपेक्षा छ।





