काठमाडौं । चीनको मौसम विज्ञान प्रशासनले सोमबार तिब्बतको जिरोङ क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन चेतावनी दिएको छ। विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडक चिप्लो हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो।
मौसम पूर्वानुमानअनुसार सो क्षेत्रको तापक्रम ८ डिग्री सेल्सियस (४६ डिग्री फरेनहाइट) सम्म झर्न सक्नेछ। दिन र रातको तापक्रममा ठूलो अन्तर आउनुका साथै मौसम ओसिलो र चिसो हुने जनाइएको छ। त्यसैगरी दक्षिणपूर्वी तिब्बतका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
निरन्तरको वर्षाका कारण सुरुमा गएको पहिरोले बनेको ताल (ब्यारियर लेक) मा पानीको सतह थप बढ्नसक्ने चेतावनी दिइएको छ। उक्त ताल भरिएर पानी बाहिर पोखिँदा थप विपद् निम्तिने जोखिमका कारण चीनले यसअघि उद्धार अभियान समेत केही समयका लागि स्थगित गरेको थियो।
यसअघि आएको पहिरो र बाढीका कारण नेपाल–चीन सीमास्थित जिरोङ बन्दरगाह क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ। थप वर्षाको सम्भावनाले त्यस क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप चुनौती थपिएको छ।




