भोटेकोशी बाढीमा बेपत्ता सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धार तीव्र पार्न मुख्यमन्त्रीको निर्देशन

प्रकाशित मिति:

सुदूरपश्चिम। भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका नागरिकहरूको शीघ्र खोज, उद्धार तथा दीर्घकालीन पुनःस्थापनाका लागि ठोस पहल गर्न मुख्यमन्त्री खगराज भट्टले सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान आयोजित प्रदेश सुरक्षा समितिको बैठकको अध्यक्षता गर्दै मुख्यमन्त्री भट्टले विपद् प्रभावित क्षेत्रमा सम्पर्कविहीन अवस्थामा रहेका नागरिकहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सबै समन्वय गर्न सम्बन्धित निकायलाई ताकेता गर्नुभएको हो। मुख्यमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार, उपलब्ध हुने सम्भव भएसम्मका सबै वैकल्पिक उपायहरू अवलम्बन गरेर उद्धार कार्यमा कुनै पनि किसिमको ढिलासुस्ती नगरी तीव्रता दिन निर्देशन दिइएको छ।
सुरक्षा समितिको उक्त बैठकले भोटेकोशी बाढीको विपद्मा परेका नागरिकहरूको उद्धार र पुनःस्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने औपचारिक निर्णयसमेत गरेको छ। साथै, आगामी दिनमा यस प्रदेशभित्र सम्भावित बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरूको जोखिमलाई मध्यनजर गर्दै सबै सुरक्षा संयन्त्रहरूलाई पूर्ण रूपमा उच्च सतर्कता र तयारीको अवस्थामा राख्ने निर्णय पनि पारित गरिएको छ।

ताजा समाचार