काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसपछिको अवस्थाबारे आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बुधबार दिउँसो १ बजे बस्ने बैठकको प्रारम्भमै प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे संसद्लाई जानकारी (ब्रिफिङ) गराउने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ। रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले पनि प्रधानमन्त्रीको सम्बोधन कार्यक्रम निश्चित भएको जानकारी दिएका छन्।
भदौ १० गते बुधबार आएको भीषण बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावतीसहित नुवाकोटको त्रिशूली बजार र देवीघाट तथा धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म विभिन्न जिल्लाबाट कुल १ हजार ११४ जनाको शव फेला परिसकेको छ भने ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। यस्तै, २९२ जना घाइते भएका छन् र प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सुरुमा प्रधानमन्त्री बालेनले सम्बोधन गरेपछि राजनीतिक दलका नेताहरूले दलीय आधारमा धारणा राख्नेछन्। त्यसपछि सभामुख अर्यालले बाढीपछिको विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। यसअघि मङ्गलबार राष्ट्रिय सभाले पनि यस सम्बन्धमा विशेष प्रस्ताव पारित गरिसकेको छ।




