काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ११८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बुधबार (१७ भदौ) बिहान ८ बजेसम्मको अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।
प्रहरीको अद्यावधिक विवरण अनुसार फेला परेका शवहरूमा ३१ बालक, ४५ बालिका, २२४ महिला, ३९५ पुरुष तथा ४२३ वटा आंशिक मानव अङ्गहरू रहेका छन्। जसमध्ये हालसम्म ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने १ हजार ११३ वटाको लास जाँच मुचुल्का तयार पारिएको छ। साथै, पहिचान नखुलेका २११ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ।
उक्त विपद्मा अझै ४ हजार ८५८ जना बेपत्ता रहेका छन्। जसमा स्वदेशी २,९२५ (२,४४५ पुरुष, ४८० महिला तथा १,३५० फोनमार्फत प्राप्त) र विदेशी ५८३ (२५१ पुरुष, ३३० महिला र २ अन्य) रहेका छन्।
यसैबीच, प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार तथा घाइतेको उपचार गरिएको छ। जसमा ४,०८६ पुरुष, १,९२२ महिला, ५३३ नखुलेको र विदेशी ५८० जना रहेका छन्।
खोजी तथा उद्धार कार्यका लागि ७ हजार २१२ जना नेपाल प्रहरी परिचालित छन्। बाढीबाट ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।




