कञ्चनपुर। रसुवाको भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट एक करोड रुपैयाँभन्दा बढी सहयोग जुटाइएको छ। जिल्लाका विभिन्न स्थानीय तह, शैक्षिक तथा वित्तीय संस्था, व्यावसायिक प्रतिष्ठान र सर्वसाधारणबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
सहयोग रकममध्ये सबैभन्दा ठुलो हिस्सा सुदूरपश्चिम विश्वविद्यालयले प्रदान गरेको छ। विश्वविद्यालयले ८८ लाख रुपैयाँ कोषमा जम्मा गरेको उपकुलपति किसनदत्त भट्टले जानकारी दिए। उनका अनुसार उपकुलपतिको एक महिनाको, प्राध्यापक तथा कर्मचारीको १० दिनको र अन्य कर्मचारीको दुईदेखि सात दिनसम्मको पारिश्रमिक कट्टा गरी सो रकम सङ्कलन गरिएको हो।
यसैगरी शुक्लाफाँटा नगरपालिकाले ७ लाख, लिटिल बुद्ध एकेडेमीले ८ लाख २५ हजार र कञ्चनपुर उद्योग वाणिज्य सङ्घले ५ लाख २५ हजार रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्। सहकारी संस्थाहरूमध्ये उदयदेव सहकारीले २ लाख ११ हजार, मेघा सहकारीले १ लाख १ हजार, सिर्जनशील सहकारीले १ लाख ११ हजार र जिल्लाका अन्य सहकारीहरूले ९८ हजार रुपैयाँ सहयोग गरेका छन्।
सङ्घसंस्था र स्थानीय तहतर्फ निड्स नेपालले १ लाख २५ हजार, समाज कल्याण सङ्घले १ लाख ८६ हजार तथा भीमदत्त नगरपालिकाको वडा नम्बर १८ ले १ लाख ११ हजार, वडा नम्बर ४ ले ५१ हजार र वडा नम्बर १७ ले ५० हजार रुपैयाँ उपलब्ध गराएका छन्। निजी व्यवसाय तथा विद्यालयतर्फ होटल ओपेराले १ लाख ५१ हजार, होटल चेतनले ५१ हजार, आध्या स्कुलले ५५ हजार र मर्निङ ग्लोरी स्कुलले ५१ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन्।
यसैबीच कञ्चनपुरस्थित गुरुकुल इन्टरनेसनल स्कुलले गौरा पर्वको अवसरमा ‘दिव्य श्रीकृष्ण लीला गौरा पर्व धार्मिक महोत्सव’ आयोजना गरी थप राहत रकम जुटाउने तयारी गरेको छ। महोत्सवबाट सङ्कलित सम्पूर्ण रकम बाढीपीडितलाई हस्तान्तरण गरिने विद्यालयका प्राचार्य खेमलाल घिमिरेले बताएका छन्। जिल्लामा सहयोग सङ्कलन कार्य अझै जारी रहेको छ।




