काठमाडौं । बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा सघाउन अष्ट्रेलियाले अत्याधुनिक ड्रोन विशेषज्ञसहितको टोली नेपाल पठाउने भएको छ। नेपाल सरकारको औपचारिक आग्रहपछि अष्ट्रेलिया सरकारले १५ सदस्यीय विपद् सहायता प्रतिक्रिया टोली खटाउन लागेको अष्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङले जानकारी दिएकी छन्।
उक्त टोलीमा ‘फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स’ र ‘क्विन्सल्यान्ड फायर डिपार्टमेन्ट’का प्राविधिक सदस्यहरू रहनेछन्। केही दिनमै नेपाल आइपुग्ने यो टोलीले अत्याधुनिक ड्रोन प्रविधिमार्फत प्रभावित क्षेत्रको द्रुत गतिमा नक्साङ्कन तथा तस्बिर सङ्कलन गरी उद्धार कार्यलाई सहज बनाउनेछ। यसअघि नै अष्ट्रेलियाका कन्सुलर, मानवीय सहायता, सङ्घीय प्रहरी र रक्षा मन्त्रालयका १९ जना कर्मचारी सङ्कट व्यवस्थापनका लागि नेपाल आइसकेका छन्।
यसैबीच, विपद्पछि नेपालमा रहेका ३८ जना अष्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अष्ट्रेलिया सरकारले जनाएको छ। उनीहरूको खोजीका लागि अष्ट्रेलियाले नेपाल र चीनका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको छ।
यस्तै, विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि अष्ट्रेलियाबाट प्राप्त हुने मानवीय सहायता रकम ११ मिलियन अष्ट्रेलियाली डलर पुगेको छ। अष्ट्रेलियाली नागरिकहरूबाट सङ्कलित ४ मिलियन डलरमा त्यहाँको सरकारले थप ३ मिलियन डलर थप गर्ने घोषणा गरेको हो। यो सहायता प्रभावित परिवारका लागि अस्थायी आवास, खानेपानी, स्वास्थ्य सेवा र बालबालिकाका लागि सिकाइ केन्द्र निर्माणमा खर्च गरिने जनाइएको छ।




