त्रिशूली बाढीमा परेर कञ्चनपुरका एकै गाउँका ४ युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

प्रकाशित मिति:

कञ्चनपुर । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् परियोजनामा कार्यरत कञ्चनपुरका चार जना युवा दुई सातादेखि सम्पर्कविहीन बनेका छन्। बेपत्ता हुनेहरूमा कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभुलीका ४३ वर्षीय पदमसिंह साउद तथा कृष्णपुर नगरपालिका–३ का ३० वर्षीय कालु राना, २९ वर्षीय रिकेश राना र २३ वर्षीय क्रेशन राना रहेका छन्।

पारिवारिक स्रोतका अनुसार उनीहरू बाढी आउनुअघि रात्रिकालीन काम (नाइट ड्युटी) सकेर बिहानको समयमा कोठामा सुतिरहेका थिए। बाढी आएयता उनीहरूसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन। दुई साता बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात नै छ।

एउटै क्षेत्रका चार युवा एकसाथ बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको लालझाडी–५ का वडाध्यक्ष पहल थापाले जानकारी दिएका छन्। लामो समयसम्म कुनै पत्तो नलाग्दा आफन्तजन निकै चिन्तित बनेका छन्। पीडित परिवारजनले आफ्ना मान्छेहरूको खोजी कार्यलाई तीव्रता दिन र वास्तविक अवस्था सार्वजनिक गर्न सरकार, स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूसँग आग्रह गरेका छन्।

ताजा समाचार