कञ्चनपुर। कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार कञ्चनपुरमा, विशेषगरी दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको जोखिम रहेको छ।
ती क्षेत्रहरूमा रहेका स–साना नदी खोलामा समेत पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने देखिएकाले सतर्क रहन महाशाखाले विशेष बुलेटिनमार्फत सूचित गरेको हो। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहहरूले स–साना नदी खोला आसपास निगरानी बढाएका छन्। बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्द र दोधारा चाँदनीका विपद् सम्पर्क व्यक्ति अमृत विकका अनुसार नगर प्रहरी, वडाध्यक्ष तथा आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राखिएका छन्।
आइतबार बिहानैदेखि वर्षा भइरहेको कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ। पानीको सतहले सतर्कता तह पार गरेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख जीवन गुरुङले जानकारी दिए।




