सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी युनियनद्वारा २५ बुँदे मागसहित उपकुलपतिलाई ज्ञापनपत्र

प्रकाशित मिति:

उपेश सिंह धामी
कंचनपुर — सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसमा रहेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का नेतृत्वकर्ताहरूले विद्यार्थीका शैक्षिक तथा प्रशासनिक समस्याको समाधान माग गर्दै विश्वविद्यालयका उपकुलपति समक्ष २५ बुँदे संयुक्त मागपत्र बुझाएका छन्।

स्ववियु निर्वाचन सम्पन्न भएपछि विभिन्न क्याम्पसका विद्यार्थी प्रतिनिधिहरूले विद्यार्थीका साझा समस्या पहिचान गरी तत्काल तथा दीर्घकालीन समाधानका लागि संयुक्त रूपमा मागपत्र प्रस्तुत गरेका हुन्। मागपत्रमा परीक्षा प्रणाली, नतिजा प्रकाशन, शुल्क, छात्रवृत्ति, इन्टर्नसिप, प्लेसमेन्ट, शैक्षिक क्यालेन्डर, क्याम्पसको भौतिक संरचना तथा विद्यार्थी कल्याणसँग सम्बन्धित विषय समेटिएका छन्।

विद्यार्थी प्रतिनिधिहरूले परीक्षाको पुनःयोगफल परीक्षण (Re-totaling) अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गर्नुपर्ने र पुनःयोगफल परीक्षणपछि नतिजा सुधार भए शुल्क फिर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। यस्तै, विश्वविद्यालयले विभिन्न विश्वविद्यालय, क्याम्पस तथा संघ–संस्थासँग गरेका सम्झौता (MOU) लाई विद्यार्थीको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै Students Exchange, Internship र Interaction जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

मागपत्रमा विश्वविद्यालयको नतिजा प्रणालीमा Relative Grading System लागू गर्नुपर्ने, प्रत्येक क्याम्पसका स्ववियु प्रतिनिधिलाई क्याम्पसका विभिन्न समितिमा सहभागी गराउनुपर्ने तथा विश्वविद्यालय सभामा समेत स्ववियुको सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

विद्यार्थीहरूले सबै सेमेस्टरको परीक्षा सञ्चालन र नतिजा प्रकाशन शैक्षिक क्यालेन्डरअनुसार नियमित हुनुपर्ने, Mid Term Exam लाई व्यवस्थित र अनिवार्य बनाउनुपर्ने तथा आन्तरिक मूल्यांकनसहित प्रत्येक सेमेस्टरको अन्तिम नतिजामा Marksheets मा स्पष्ट रूपमा समावेश गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, Online Exam Form System व्यवस्थित बनाउनुपर्ने र परीक्षामा देखिँदै आएका प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका जाँच तथा आन्तरिक र प्रयोगात्मक मूल्यांकनसम्बन्धी त्रुटि नियमन तथा सुधार गर्नुपर्ने विद्यार्थीको माग छ।

विद्यार्थी प्रतिनिधिहरूले विश्वविद्यालयअन्तर्गतका क्याम्पसका जग्गा तथा भौतिक सम्पत्तिको संरक्षण गर्नुपर्ने, पहाडी क्षेत्रका क्याम्पसका विद्यार्थीलाई Transcript तथा Provisional Certificate सात दिनभित्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन्।

यस्तै, विश्वविद्यालय सेवा आयोगलाई सक्रिय बनाई दक्ष प्राध्यापकको विज्ञापन तथा पदपूर्ति प्रक्रिया अघि बढाउनुपर्ने, करार तथा कोट करारका प्राध्यापकलाई खुला प्रतिस्पर्धाबाट छनोट गर्नुपर्ने र अध्ययनका क्रममा आकस्मिक समस्यामा पर्ने विद्यार्थीका लागि आकस्मिक सहयोग कोष स्थापना गर्नुपर्ने माग राखिएको छ।

विद्यार्थी युनियनहरूले स्ववियु निर्वाचनपछि पनि विद्यार्थीका समस्या सुन्ने, विद्यार्थी मुद्दा तथा विषयमा छलफल गर्ने र सम्बोधनका लागि विश्वविद्यालयले निरन्तर पहल गर्नुपर्नेमा जोड दिएका छन्।

संयुक्त मागपत्रमा कैलाली बहुमुखी क्याम्पस, धनगढीका स्ववियु अध्यक्ष सन्तोष पन्त, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका अध्यक्ष भुवन महरा, टीकापुर बहुमुखी क्याम्पसका अध्यक्ष किरण साउद, दार्चुला बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश बडु, गोकुलेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष सुनिल डाँगा, बाजुरा बहुमुखी क्याम्पसका अध्यक्ष सचिन रावत, जयपृथ्वी बहुमुखी क्याम्पसका अध्यक्ष तिलकचन्द्र बोहरा, त्रिवेणी बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश अवस्थी, पाटन बहुमुखी क्याम्पसका अध्यक्ष सञ्जय भण्डारी, जगन्नाथ बहुमुखी क्याम्पसका अध्यक्ष रोशन भट्ट, सिताराम बहुमुखी क्याम्पसका अध्यक्ष उमेश बलायर, मणिलेक बहुमुखी क्याम्पसका अध्यक्ष मनोज दत्त ओझा र घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष सुरत बोहरा लगायतका विद्यार्थी नेताहरूको हस्ताक्षर रहेको छ।
विद्यार्थी प्रतिनिधिहरूले प्रस्तुत मागहरूलाई गम्भीरतापूर्वक लिएर विश्वविद्यालय प्रशासनले न्यायोचित र व्यवहारिक समाधानका लागि तत्काल पहल गर्नुपर्ने बताएका छन्।

ताजा समाचार