महेन्द्रनगर। महाकाली नदीमा गाईगोरु तार्ने क्रममा डुबेर बेपत्ता भएका कञ्चनपुरका एक वृद्धको शव फेला परेको छ। दोधारा चाँदनी नगरपालिका–४, मालिकाटोलका ६० वर्षीय जित दमाई सोमबार बिहान महाकाली नदीमा गाईगोरु तार्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर दक्षिणतर्फ दोधारा चाँदनी नगरपालिका–५ स्थित बाबातलाउ नजिक महाकाली नदीमै फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए।
बेपत्ता दमाईको खोजीका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभातकुमार गौतमको नेतृत्वमा रबर बोटसहित १० जना र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा १२ जनाको टोली परिचालन गरिएको थियो। नदी क्षेत्रमा निरन्तर खोजी गर्दा दमाईको शव फेला परेको सुरक्षा निकायले जनाएको छ।




