मार्तडी। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बाजुराका नागरिक लामो समयसम्म फेला नपरेपछि आफन्तले कुशको शव बनाएर काजक्रिया गर्न थालेका छन्। भदौ १० गतेको बाढीपछि रसुवाको टिमुरेबाट बेपत्ता भएका बाजुराका १६ जनाको २० दिन बितिसक्दा पनि कुनै पत्तो नलागेपछि परिवारजनले धार्मिक परम्पराअनुसार काजक्रिया सुरु गरेका हुन्।
खोजी गर्दा सास वा लास केही पनि नभेटिएपछि हिमाली गाउँपालिका–४ फैतीका बिसी पाण्डेलगायत केही व्यक्तिका परिवारले काजक्रिया सम्पन्न गरिसकेका छन् भने अन्य परिवार पनि काजक्रियाको तयारीमा जुटेका छन्। सम्पर्कविहीन मोहनलाल रोकायाकी श्रीमती जमुना रोकायाले लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि असोज २ गतेदेखि काजक्रिया गर्ने तयारी गरेको बताइन्। टिमुरेस्थित नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत हिमाली–६ का दीपे सार्कीका आफन्तले पनि शव पहिचानका लागि काठमाडौँमा डीएनए परीक्षण गराएका छन्।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सम्पर्कविहीन हुनेहरूमा हिमाली गाउँपालिकाका १० जना, स्वामीकार्तिक खापर गाउँपालिकाका ५ जना र जगन्नाथ गाउँपालिकाका १ जना रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले टिमुरेबाट बेपत्ता भएका बाजुराका १६ जनाको खोजी कार्य जारी राखिए पनि हालसम्म कुनै सूचना प्राप्त हुन नसकेको जानकारी दिए।




