कालीगण्डकी बस्तीमा पस्दा फर्सेमा २५ घर बगे : मानवीय क्षति टर्‍यो, स्थानीय सुरक्षित स्थानमा

प्रकाशित मिति:

पर्वत। कालीगण्डकी नदीमा उर्लिएको भीषण बाढी बस्तीभित्र पस्दा पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा २५ वटा घर बगेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आइतबार बिहान करिब ८ बजे नदीमा बहाव अप्रत्याशित रूपमा बढेर सिधै फर्से बस्तीतर्फ मोडिएको थियो। बस्तीमा रहेका करिब ८० घरधुरीमध्ये २५ वटा घर पूर्ण रूपमा बाढीले बगाएको छ भने बाँकी घरहरू कटान र डुबानको उच्च जोखिममा परेका छन्। स्थानीय बासिन्दा र जनप्रतिनिधिको पूर्वसतर्कताका कारण समयमै बस्ती खाली गराइएकाले कुनै मानवीय क्षति भने हुन पाएन। जोखिममा रहेका सबै बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ। तर वरपरका ग्रामीण सडकमा पहिरो खसेका कारण प्रहरी तथा उद्धार टोलीलाई तत्काल घटनास्थलसम्म पुग्न कठिनाइ भएको छ। बाटोको अवरोध पन्छाउँदै सुरक्षाकर्मी घटनास्थल पुग्ने प्रयासमा रहेका छन् भने क्षतिको थप पूर्ण विवरण संकलन भइरहेको छ।

ताजा समाचार