सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै, पाँच वर्षमा १०० जना पक्राउ

प्रकाशित मिति:

धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा वन्यजन्तु अपराध नियन्त्रणका प्रयासहरू प्रभावकारी बन्दै गएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्लो पाँच आर्थिक वर्षको तथ्याङ्कले प्रदेशमा वन्यजन्तु चोरी–सिकारी तथा अवैध ओसारपसारका घटनाहरू क्रमशः घट्दै गएको देखाएको हो।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म प्रदेशमा वन्यजन्तु अपराधसम्बन्धी ४४ वटा घटना घटेका छन्। यी घटनामा कुल ८५ वटा मुद्दा दायर हुँदा १०० जना अभियुक्त पक्राउ परेका छन्। मन्त्रालयका सूचना अधिकारी भोजराज पाठकका अनुसार आव २०७८/७९ मा १६ घटनामा ४३ जना पक्राउ परेकोमा क्रमशः घट्दै आव २०८१/८२ मा चार घटनामा पाँच जना र २०८२/८३ मा चार घटनामा १२ जना पक्राउ परेका छन्। अघिल्ला वर्षहरूको तुलनामा पछिल्ला वर्षहरूमा घटनाको सङ्ख्यामा उल्लेख्य कमी आएको छ।

पाँच वर्षको अवधिमा सबैभन्दा बढी वन्यजन्तु अपराधका घटना कञ्चनपुरमा दर्ता भएका छन्। कञ्चनपुरमा ४४, कैलालीमा २८, बैतडीमा १४, बझाङ र डोटीमा चार/चार, डडेल्धुरामा तीन, दार्चुलामा दुई तथा अछाममा एक जना पक्राउ परेका छन् भने बाजुरामा पाँच वर्षयता वन्यजन्तु अपराधको कुनै घटना भएको छैन। यस क्षेत्रमा मुख्यतया चितुवा, पाटेबाघ, बँदेल, सालक, घोरल, चित्तल र भालुलगायतका वन्यजन्तु सिकार तथा ओसारपसारको निशानामा पर्ने गरेका छन्।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका प्रमुख हेमराज विष्टले क्यामेरा ट्र्याप, स्मार्ट गस्ती, समुदायमा आधारित संरक्षण र भारतीय सीमावर्ती जिल्ला पिलिभित र पिथौरागढका सुरक्षा संयन्त्रसँगको नियमित समन्वयका कारण आपराधिक जालो कमजोर बन्दै गएको जानकारी दिए। यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीले चोरी–सिकार नियन्त्रणमा आए पनि अबको मुख्य चुनौती मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र सहअस्तित्व निर्माणमा रहेको औँल्याए।

ताजा समाचार