धौलीगङ्गाको बाँधका ढोका खोलियो : महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति:

बैतडी । भारतको उत्तराखण्ड प्रदेश, पिथौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरू खोलिएका छन्। बाँधमा जम्मा भएको सिल्ट (बालुवा तथा माटो) सफाइका लागि ४८ घण्टासम्मका लागि ढोका खुला गरिएको हो।

भारतको एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसनको पूर्वसूचनाअनुसार असोज १७ गते राति १ः०० बजेदेखि असोज १९ गते राति १ः०० बजेसम्म बाँधका ढोका खुला रहने बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिएकी छन्। बाँध खुला रहेकाले महाकाली नदीमा बहाव तथा जलस्तर एक्कासि बढ्न सक्ने सम्भावना छ।

दार्चुलाबाट बैतडी, डडेलधुरा र कञ्चनपुर हुँदै बग्ने महाकाली तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान र आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

दुई सय ८० मेगावाट क्षमताको धौलीगङ्गा परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली प्रशासनलाई पूर्वसूचना दिने गर्दछ। यसअघि गत साउन १३ गते पनि बाँधमा जमेको सिल्ट सफाइका लागि ढोकाहरू खोलिएका थिए।

ताजा समाचार