सुदूरपश्चिम सरकारद्वारा निजामती र स्थानीय तहका कर्मचारीको नयाँ तलबमान सार्वजनिक

प्रकाशित मिति:
spot_img

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका कर्मचारीहरूका लागि २०८३ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान तालिका सार्वजनिक गरेको छ। मन्त्रालयका निमित्त प्रमुख सचिवद्वारा प्रमाणित अनुसूची–१ अनुसार तहगत आधारमा सुरु तलब, ग्रेड सङ्ख्या, ग्रेड दर र कायम जम्मा रकम स्पष्ट पारिएको छ। सार्वजनिक विवरण अनुसार अधिकृत एघारौँ तहको सुरु तलब मासिक ६६ हजार ५३९ रुपियाँ निर्धारण गरिएको छ। त्यसमा पाँचवटा ग्रेड (प्रतिग्रेड दुई हजार २१८ रुपियाँ) थपिँदा अधिकतम ७७ हजार ६२९ रुपियाँ पुग्नेछ।

यसैगरी अधिकृत दसौँ तहको सुरु तलब ६२ हजार ४६६ (कायम जम्मा ७७ हजार ०४०), नवौँ तहको ५७ हजार ६५९ (कायम जम्मा ७१ हजार ११३), आठौँ तहको ५३ हजार ६११ (कायम जम्मा ६६ हजार १२०), सातौँ तहको ५० हजार ४३६ (कायम जम्मा ६३ हजार ८८४) र अधिकृत छैटौँ तहको सुरु तलब ४८ हजार ०५८ रुपियाँ (कायम जम्मा ६० हजार ८७४) कायम गरिएको छ।

सहायक तहमा पाँचौँ तहका कर्मचारीको सुरु तलब ३८ हजार २०३ रुपियाँ तोकिएको छ, जसमा १० वटा ग्रेड जोडिँदा ५० हजार ९३३ रुपियाँ पुग्नेछ। यस्तै सहायक चौथोको सुरु तलब ३६ हजार १९२ रुपियाँ (कायम जम्मा ४८ हजार २५२) निर्धारण गरिएको छ।

सवारी चालक तथा कार्यालय सहयोगीका हकमा तहगत आधारमा तलब तोकिएको छ। हेभी सवारी चालक पाँचौँ स्तरको सुरु तलब ४५ हजार ७१७, हलुका सवारी चालक पाँचौँ स्तरको ४३ हजार ७९४ र कार्यालय सहयोगी प्रथम स्तरको सुरु तलब २७ हजार १७२ रुपियाँ कायम गरिएको छ। २०५७ साउन १ गतेभन्दा अघि नियुक्ति पाएका प्राविधिक वा सो सरह तलबभत्ता खाइपाई आएका कर्मचारीहरूका लागि थप दुई ग्रेडसहितको विशेष व्यवस्थासमेत समेटिएको छ।

spot_img

ताजा समाचार