कैलाली । दसैँ, तिहार र छठ पर्वलाई सुरक्षित बनाउन सुदूरपश्चिम प्रदेशभर झन्डै पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सम्भावित चोरी, लुटपाट र सीमा क्षेत्रका अवैध गतिविधि नियन्त्रण गर्न ११ सयभन्दा बढी स्थानमा सुरक्षा ड्युटीको प्रबन्ध मिलाइएको छ। भारतबाट फर्किने यात्रुहरूको सहजताका लागि सीमा नाकाहरूमा सहायता कक्ष स्थापना गरी तालिमप्राप्त कुकुरसहित कडा निगरानी थालिएको छ।
यस्तै, सबैभन्दा बढी जनसङ्ख्या भएको कैलालीमा मात्रै ११ सय ४६ प्रहरी खटाइएको छ, जहाँ मोबाइल गस्ती, क्युआरटी र स्ट्राइकिङ टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ। चाडपर्वमा घर वा पसल खाली छोडेर जाँदा झ्यालढोका सुरक्षित राख्न र सतर्कता अपनाउन प्रहरीले नागरिकलाई विशेष अनुरोध गरेको छ।






