महेन्द्रनगर । कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको पुनर्वास नगरपालिका–४ स्थित साहरा इँटाभट्टा नजिकैबाट भारतदेखि नेपालतर्फ लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–६ लालपुर बस्ने २८ वर्षीय राजेश कोली, २२ वर्षीय सुरेश कोली र भारत लखिमपुर खिरीका ३० वर्षीय राम पुकार रहेका छन्।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीको संयुक्त टोलीले युपी ३१ सिपीड ६९७८ नम्बरको भारतीय मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–०१३ प ६७६३ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको साथबाट आठ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।
यसैगरी कञ्चनपुरकै बेलौरी नगरपालिका–६ बसपार्क क्षेत्रबाट ९०० मिलिग्राम खैरो हेरोइनसहित शुक्लाफाँटा नगरपालिका–१० बस्ने १८ वर्षीय एक किशोरलाई पनि इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले पक्राउ गरेको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





