पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल सडकखण्ड) मा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ।
बिहान करिब ७:०० बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। पैदलयात्रीलाई ठक्कर दिएलगत्तै अनियन्त्रित भएको मोटरसाइकल सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा–१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल विरौटा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ।





