धनगढी । बडादसैँको लामो सार्वजनिक बिदा सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरूले नियमित बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेका छन्। सरकारले फूलपातीदेखि बिदा दिएसँगै शनिबार र आइतबारसहित यस वर्ष नौ दिन सार्वजनिक बिदा परेकाले नियमित स्वास्थ्य परीक्षण तथा परामर्शका लागि अस्पताल पुग्ने सेवाग्राही प्रभावित भएका छन्। ओपिडी सेवा बन्द भए पनि आकस्मिक उपचार, भर्ना भएका बिरामीको रेखदेख र अत्यावश्यक सेवा भने २४ सै घण्टा निरन्तर सञ्चालनमा राखिएको छ।
प्रदेशको रेफरल सेन्टरका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढी र कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालले दसैँ बिदामा पनि बिरामीको उपचार प्रभावित नहोस् भन्नका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आलोपालो ड्युटीमा खटाएका छन्। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार बिदाको अवधिमा आकस्मिक सेवा, सिटी स्क्यान, डायलासिस र प्रसूति सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्।
यस्तै, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले ओपिडीबाहेक २४ घण्टा उपलब्ध हुनुपर्ने आकस्मिक र अन्तरङ्ग सेवा सुचारु अवस्थामा रहेको जानकारी दिएका छन्। अस्पतालहरूका अनुसार आगामी कात्तिक ९ गतेदेखि सबै नियमित सेवाहरू पुनः सञ्चालनमा आउनेछन्।






