बैतडी । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा हजारौँ श्रद्धालुको सहभागितामा महाष्टमीको जात्रा सम्पन्न भएको छ। दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित मन्दिरमा महाष्टमीका अवसरमा ३४६ राँगा र २५० भन्दा बढी बोका गरी झन्डै छ सय पशुको बलि चढाइएको हो।
घटस्थापनादेखि नित्य पूजाआराधना भइरहेको मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन विधिवत् पूजासहित बलि दिने परम्पराअनुसार जात्रा सम्पन्न गरिएको हो। बडादसैँको यस प्रसिद्ध धार्मिक जात्रा भर्न सुदूरपश्चिमका विभिन्न जिल्लासहित सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा भक्तजनहरू देहीमाण्डौँ पुगेका थिए।






