अछाम । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर रामारोशन गाउँपालिका वडा नम्बर पाँच स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग सिजन–दुई’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो। रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता यही कात्तिक तेह्र गतेदेखि सुरु हुने क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए।
अछामकै हालसम्मको सबैभन्दा ठुलो धनराशिको मानिएको यस प्रतियोगिताको विजेता टोलीले दुई लाख रुपियाँ र उपविजेताले एक लाख रुपियाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको उद्घाटनका अवसरमा पञ्चेबाजा, देउडा, हुड्क्यौली र भुवाजस्ता स्थानीय मौलिक कला–संस्कृति प्रदर्शन गरिने आयोजकले जनाएको छ।
बाह्र बण्ड अठार खण्डका रूपमा परिचित बाह्र ताल र अठार घाँसे मैदानयुक्त रामारोशन क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ। यद्यपि, जयगढ–रामारोशन सडक खण्ड निर्माण सम्पन्न नहुँदा आवतजावतमा सास्ती खेप्नुपरेको पर्यटकहरूको गुनासो रहेको रामारोशन पर्यटन विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताए।






