सहकारी पीडितको बचत फिर्ता र भूमिहीन समस्या समाधान सरकारको प्राथमिकता : मन्त्री रावल

प्रकाशित मिति:
spot_img

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिक र सहकारी पीडितका समस्या समाधान गर्नु वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रावलले जनता मन्त्रीलाई भेट्न आउने परिपाटीको अन्त्य गरी मन्त्री स्वयं जनताको घरदैलोमा पुगेर गुनासो सुन्नुपर्ने धारणा राख्नुभयो। उहाँले समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको र त्यसलाई अझ तीव्र गतिमा अघि बढाइने जानकारी दिनुभयो। लामो समयदेखि पीडामा रहेका बचतकर्ताको रकम छिटो फिर्ता गराउन सरकारले सम्बन्धित सहकारीहरूलाई निरन्तर ताकेता गरिरहेको उहाँको भनाइ छ।

यसै गरी भूमिहीन नागरिकको समस्या समाधानतर्फ इङ्गित गर्दै मन्त्री रावलले वर्षौँदेखि बसोबास गर्दै आएको स्थानबाट कसैलाई पनि नहटाइने स्पष्ट पार्नुभयो। लामो समयदेखि बसोबास गरिरहेका नागरिकलाई सोही स्थानकै जग्गाधनी पुर्जा उपलब्ध गराउन विद्यमान कानुनी तथा नीतिगत जटिलताहरू सुधार गरिसकिएको उहाँले बताउनुभयो। कार्यान्वयनका क्रममा आउने थप बाधा-अड्चनलाई फुकाउँदै सरकारले भूमिहीनलाई जग्गाको स्वामित्व दिलाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

spot_img

ताजा समाचार