काठमाडौं । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) सूचीमा सूचीकृत भएका नेपाली म्यानपावर व्यवसायीहरू सम्पर्कविहीन भएका छन्। वैदेशिक रोजगार विभागले अनुसन्धान प्रक्रिया तीव्र बनाउँदै पक्राउ पुर्जी जारी गरेपछि ती व्यवसायीहरू सम्पर्कविहीन बनेका हुन्।
मलेसियाले एफडब्लूसीएमएस प्रणालीमार्फत नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य (प्रिन्सिपल) र दुई सय ५० म्यानपावरलाई सहायक (एसोसिएट एजेन्सी) का रूपमा सूचीकृत गरी उनीहरूमार्फत मात्रै श्रमिक पठाउन पाउने व्यवस्था गरेको थियो। निश्चित म्यानपावरबाट मात्रै सिन्डिकेट शैलीमा श्रमिक पठाउने व्यवस्था भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशनमा विभागले अनुसन्धान अधिकृत तोकेर छानबिन अघि बढाएको थियो।
विभागले वैदेशिक रोजगार न्यायाधीकरणबाट २५ म्यानपावर व्यवसायीविरुद्ध पक्राउ अनुमति लिएपछि ट्रस्ट नेपाल म्यानपावरका सञ्चालक रविन गुरुङ पक्राउ परेका थिए। श्रममन्त्री रामजी यादवको निर्देशनपछि असोज २९ गते पक्राउ परेका गुरुङलाई सर्वोच्च अदालतले थुना प्रारम्भदेखि नै गैरकानुनी र क्षेत्राधिकारविहीन रहेको ठहर गर्दै बन्दी प्रत्यक्षीकरण आदेशमार्फत हिरासतमुक्त गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि अन्य व्यवसायीहरू भारत तथा मलेसियातर्फ फरार भएको बताइएको छ। विभागले पक्राउ पुर्जी जारी भएका व्यवसायीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए बैंक खाता रोक्का, यात्रा अनुमति (ट्राभल ब्यान) प्रतिबन्ध लगायतका कडा कानुनी प्रक्रिया अघि बढाउने विभागले चेतावनी दिएको छ।







