काठमाडौं । उत्तरी गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदीपारि फसेको एउटा घरपालुवा कुकुरको २० दिनपछि जीवितै उद्धार गरिएको छ। गत असोज २५ गतेदेखि चुमनुव्री गाउँपालिका–३ जगतस्थित बगरमा उक्त कुकुर फसेको थियो।
धादिङको र्याफ्टिङ टोलीले ‘एनिमल नेपाल’ नामक संस्था र चुमनुव्री गाउँपालिकासँगको समन्वयमा सिर्दिबासस्थित जगत पुगेर शुक्रबार कुकुरको उद्धार गरेको हो। गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार बिहीबार हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाइए पनि खराब मौसमका कारण उडान हुन नसकेपछि र्याफ्टिङ टोलीको सहयोग लिइएको हो।
जगतका स्थानीय कमल कार्कीले पालेको उक्त कुकुर असोज २५ गते बूढीगण्डकीमा आएको बाढीले घर र झोलुङ्गे पुल बगाएपछि नदीपारि एक्लिएको थियो। स्थानीय गणेश कार्कीका अनुसार बाढीको खबर पाएपछि मानिसहरू पुल तरेर वारि आउन सफल भए पनि लगत्तै पुल र घर बगेपछि कुकुर पारि नै रोकिएको थियो। सो बाढीले त्यस क्षेत्रका चारवटा घर बगाएको थियो। बाढीका कारण सोही क्षेत्रमा फसेका केही बाख्राहरूको पनि उद्धार प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।







