कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ

प्रकाशित मिति:
spot_img

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ब्राउनसुगर र गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

कैलालीको जानकी गाउँपालिका–६ बाट ७३० मिलिग्राम ब्राउनसुगर र १३ ग्राम गाँजासहित जानकी–८ का २४ वर्षीय भुवन तिमिल्सिना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले मङ्गलबार जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। यस्तै, भजनी नगरपालिका–५ बक्तुरीघाटबाट १८ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित कैलारी गाउँपालिका–४ हसुलियाका २० वर्षीय सरोज चौधरी पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुरको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडियाबाट ६ ग्राम ३३० मिलिग्राम ब्राउनसुगरसहित कैलालीको घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय जीवन पार्की पक्राउ परेका छन्। उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले पक्राउ गरेको हो।

त्यस्तै, भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टर नजिकैबाट भारतबाट स्कुटरमा नेपालतर्फ आउँदै गरेका भीमदत्त–६ का ३२ वर्षीय दीपक भाट पाँच दशमलव ४४ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चारै जनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार