बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७, भामचौर नजिकै आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
बागथलातर्फ जाँदै गरेको से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भई बिहान करिब ८:४५ बजे सडकबाट करिब २० मिटर तल खोलामा खसेको हो। दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का गोपाल धामी र पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

दुर्घटनामा परी छ जना गम्भीर घाइते भएका छन् भने जीपमा सवार अन्य सात जनाको अवस्था सामान्य रहेको छ। जीप बुङ्गल नगरपालिका–२, गिरौँका मोहन धामीले चलाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।







