भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणमा संलग्न बाघलाई प्राविधिक टोलीले डार्ट हानेर नियन्त्रणमा लिएको छ।

भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतो सोमबार दिउँसो बेथरी खोला नजिकै साथीहरूसँग निउरो टिप्न गएका बेला बाघको आक्रमणमा पर्नुभएको थियो। उहाँसँगै गएका अन्य तीन जनाले ज्यान जोगाएर इलाका प्रहरी कार्यालय दिव्यनगरमा खबर गरेपछि सुरक्षाकर्मी र निकुञ्ज टोलीले खोजी सुरु गरेको थियो।
नेपाल प्रहरी, नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी तथा स्थानीयवासीको संयुक्त टोलीले खोजी गर्ने क्रममा मङ्गलबार बिहान निकुञ्ज क्षेत्रभित्र महतोको शव फेला पारेको हो। शव फेला परेको स्थान नजिकै फेला परेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले लठ्याउने सुई (डार्ट) प्रहार गरी नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ।







