काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका विरुद्ध फैलाइएका भ्रम, गलत सूचना र अफवाहहरूको तथ्य र प्रमाणका आधारमा सशक्त खण्डन गर्नुपर्ने बताउनुभएको छ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमाले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, राष्ट्रिय स्वाभिमान र सामाजिक–आर्थिक रूपान्तरणमा निरन्तर क्रियाशील रहेको स्पष्ट पार्नुभयो। पार्टीले देश र जनताका पक्षमा गरेका काम तथा उपलब्धिलाई जनतामाझ सही रूपमा प्रवाह गरिनुपर्नेमा उहाँको जोड थियो।
नेता भण्डारीले प्रवासमा रहेका श्रमिक, विद्यार्थी, व्यवसायीलगायत सबै वर्गका आफ्नै विशिष्ट समस्या र सरोकार रहेकाले ती सबैलाई समेटेर सङ्गठनलाई अगाडि बढाउनुपर्ने बताउनुभयो। साथै, उहाँले गैरआवासीय नेपालीहरूलाई स्वदेशी निजी क्षेत्रसँग सहकार्य गरी उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा लगानी गर्न आह्वान गर्दै सरकारले नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।







