काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सबाट खेल्न दक्षिण अफ्रिकाका चर्चित ब्याट्सम्यान डेभिड मिलर बुधबार काठमाडौँ आइपुगेका छन्।
विश्व क्रिकेटका उत्कृष्ट ‘फिनिसर’ का रूपमा परिचित ३७ वर्षीय मिलरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सन् २०२४ को टी–२० विश्वकपमा नेपालविरुद्धको रोमाञ्चक प्रतिस्पर्धा स्मरण गर्दै नेपालको क्रिकेट क्रेज र प्राकृतिक सौन्दर्यको प्रशंसा गरे। जारी एनपिएलमा कर्णाली याक्सले खेलेका तीनमध्ये दुई खेल जित्दै राम्रो सुरुआत गरेकोमा खुसी व्यक्त गर्दै उनले आफ्नो सहभागिताले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। कर्णालीले शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्ने खेलमा मिलर मैदान उत्रिनेछन्।

इन्डियन प्रिमियर लिग (आइपिएल), बिग बास तथा पाकिस्तान सुपर लिगजस्ता विश्वचर्चित लिग खेलिसकेका मध्यक्रमका बायाँहाते ब्याट्सम्यान मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतकसहित दुई हजार आठ सय चार रन बनाइसकेका छन्। समग्र टी–२० क्रिकेटमा उनले पाँच सय ८४ खेल खेल्दै १२ हजार चार सय ३५ रन जोडेका छन्। कर्णाली याक्स स्पोर्ट्सका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले टिम बलियो हुनुका साथै नेपाली पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने बताएका छन्।







