काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेलमा अङ्कतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले चौथो स्थानको जनकपुर बोल्ट्सको सामना गर्नेछ भने दोस्रो खेलमा विराटनगर किङ्ग्स र काठमाण्डु गोर्खाज आमनेसामने हुनेछन्।

उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लायन्स पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो। जारी प्रतियोगितामा अपराजित रहेको एक मात्र टोली लुम्बिनी तीन खेलमा दुई जित र वर्षाका कारण रद्द भएको एक खेलबाट पाँच अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ।
यस्तै, समान चार खेलबाट दुई जित र दुई हारसहित चार–चार अङ्क जोडेका विराटनगर किङ्ग्स, कर्णाली याक्स र जनकपुर बोल्ट्स नेट रनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्। दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको काठमाण्डु गोर्खाज भने दुई अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ।







