काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) गराएको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्दै आएका भारतको बिहार राज्य, भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा अनलाइन माध्यमबाट सट्टेबाजी भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपियाँ बराबरको गैरकानुनी कारोबार गरेको खुलेको छ। पक्राउ परेका सिन्हालाई जुवा वा सट्टेबाजीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।







