छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

प्रकाशित मिति:
spot_img

 काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो।

पौराणिक ग्रन्थ महाभारतका अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी विराट राजाको दरबारमा सूर्यदेवको आराधना गरेपछि छठ मनाउने परम्पराको थालनी भएको लोककथन छ। यस्तै, सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी र त्यही बेलादेखि यो पर्व मनाउन थालिएको उल्लेख छ।

पुराणमा पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापका कारण कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाबाट रोगमुक्त भएको चर्चा पाइन्छ। सूर्यको शक्तिबिना वनस्पति तथा प्राणीको अस्तित्व सम्भव नहुने र सूर्य किरणको चिकित्साबाट असाध्य रोगको उपचारसमेत हुने मान्यता छ।

छठको व्रत बसेमा दुःख र दरिद्रताबाट मुक्ति मिल्ने तथा झुप्पा–झुप्पा फल चढाउँदा सूर्यदेव प्रसन्न भई सन्तानको भलो हुने जनविश्वास रहेको छ। आफैँ व्रत बस्न नसक्नेहरूले अन्य बर्तालुमार्फत पनि आफ्नो कामना पूरा गराउने परम्परा छ।

spot_img

ताजा समाचार