काठमाडौं । नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक भेटिएको छ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा यसअघि काँडे भ्याकुर देखिएको आधिकारिक अभिलेख थिएन। विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने नेपालको मौलिक जैविक सम्पदा ठाडादहमा पुष्टि हुनु जिल्लाका लागि महत्त्वपूर्ण उपलब्धि भएको कार्यालयका सूचना अधिकारी केसर खड्काले बताए।
अङ्ग्रेजीमा स्पाइनी ब्याब्लर भनिने काँडे भ्याकुर घना झाडीमा लुकेर बस्ने लजालु स्वभावको चरा हो। ठाडादह क्षेत्रमा यसको उपस्थिति देखिनुले यहाँको पर्यावरणीय महत्त्व अझ उजागर गरेको छ।
वन विनाश, झाडी फँडानी र मानवीय गतिविधिले बासस्थानमा असर पर्न सक्ने भएकाले संरक्षणमा ध्यान दिनुपर्ने वन कार्यालयले जनाएको छ। यस अभिलेखसँगै अर्घाखाँचीमा पन्छी अनुसन्धान र पर्यापर्यटनको सम्भावनासमेत बढेको छ।






