सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरस्थित सडकखण्डमा कार र अटो एकआपसमा ठोक्किँदा अटो चालकसहित छ जना घाइते भएका छन् । मङ्सिर १ गते बिहान १० बजेर २० मिनेटमा महोत्तरीको सम्सीबाट शीतलपुरतर्फ जाँदै गरेको बा २१ च ३०१५ नम्बरको कार फर्काउने क्रममा सोही दिशाबाट आउँदै गरेको ज १ ह ३७४५ नम्बरको अटोसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि महोत्तरीको रघुनाथपुरस्थित आरबी अस्पताल लगिएको थियो । तीमध्ये महोत्तरीको सम्सी गाउँपालिका–७ का ६० वर्षीय राजकिशोर साह र सर्लाहीको मलङ्गवा नगरपालिका–१२ गमरियाकी रेनु देवी साहका सात वर्षीय छोरा मुरारी साहको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक महोत्तरीको सोनमा गाउँपालिका–५ का ३५ वर्षीय रविन्द्र यादव, सर्लाहीको कौडेना गाउँपालिका–६ सकरौलका २१ वर्षीय जसविन्द्र मुखिया, मलङ्गवा–१२ की २८ वर्षीया रेनु देवी साह र मलङ्गवा–७ मुसैलीकी १६ वर्षीया अम्बिका यादव घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।
प्रहरीले कार चालक महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरका ५१ वर्षीय मनोज कुमार साहलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।






