काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत निर्वाचनको हारबाट पाठ सिक्दै कमीकमजोरी सच्याएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छिन्।
पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन आज सम्बोधन गर्दै उनले एउटा निर्वाचनको हार अस्थायी भएकाले निराश नभई आगामी निर्वाचनमा केन्द्रित हुन आग्रह गरिन्।
११ वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले आफू व्यक्तिगत पद वा सुविधाका लागि नभई पार्टीको वैचारिक विकास र सङ्गठनात्मक सुदृढीकरणमा योगदान पुर्याउन फर्किएको स्पष्ट पारिन्।
साथै, उनले जनताको बहुदलीय जनवाद (जबज) लाई व्यवहारमा उतार्नुपर्ने तथा युवा पलायन र बेरोजगारी रोक्न जनसङ्गठनले उद्यमशीलता र रचनात्मक अभियान चलाउनुपर्नेमा जोड दिइन्। एमालेको दुईदिने राष्ट्रिय भेला आज सम्पन्न हुँदै छ।






