काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गर्नुभएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको बताउँदै उहाँले बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको औँल्याउनुभएको छ।
संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको सन्देशमा उल्लेख छ। यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबिच समन्वय र सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री शाहको भनाइ छ।
यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै उहाँले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहनसमेत आग्रह गर्नुभएको छ। साथै, अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आमनागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उहाँले आह्वान गर्नुभएको छ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि आजैदेखि सुरु भएको हो। संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट होऔँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ। नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन भइरहेको छ।
प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने विविध कार्यक्रमले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै अभियानको सफलताको कामना गर्नुभएको छ।






