जयसिंह धामी बेपत्ता घटनाःपरिवार भन्छन्–‘हामीले न शव पायौँ,न न्याय’

प्रकाशित मिति:

महेन्द्रनगर । दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी फुकाइदिएपछि खसेर बेपत्ता भएकोे ५ महिना बित्यो ।

व्यास गाउँपालिका–२ मालघाटका धामी गत साउन १५ गते बैदेशिक रोजगारीका लागि सदमुकाम खलङ्घा हुदै काठमाण्डौँ जानेबेला महाकाली नदिमा रहेको तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी फुकाइदिएपछि खसेर बेपत्ता भएका थिए ।

यो बिचमा सो घटनाको सत्यतथ्य छानविन गर्न र धामीलाई न्याय दिन भन्दै देशैभरी प्रदर्शनहरु भए । तत्काल गृह मन्त्रालयले पनि सह–सचिव जनार्दन गौतमको नेतृत्वमा छानविन टोली खटायो ।

सो छानविन टोलीले झन्डै आठ दिन दार्चुला बसेर घटनाको छानविन गरि सरकारलाई प्रतिवेदन समेत बुझाइसक्यो । यद्यपी हाल सम्म धामीले न्याय भने पाएका छैनन् ।

‘एसएसबीले तुइन काट्दिदा दाई महाकाली नदिमा खसेर बेपत्ता हुनुभएको पाँच महिना बितिसक्दापनि हामीले अहिले सम्म न दाईको शव पायौँ, न न्याय ।’ जयसिंह धामीका भाई नरेन्द्र धामीले भने ‘अब त न्याय पाउने आश नै मरिसक्यो ।’

छानविन समितिलेपनि अहिले वास्ता नगरेको उनले बताए । ‘केही दिन अगाडी सम्म म छानविन समितिका मान्छेलाई फोन गरेर घटनाको बारेमा सोधिराख्थ्ये, तर उहाँहरुले जहिलेपनि हामी गरिराछौ भन्दै आश्वासन मात्र दिनु हुन्थ्यो । त्यसैले अहिले मैले पनि फोन गर्न छोडे ।’ जयसिंहका भाईले भने ‘मैले यहाँका केही बुद्धिजिविहरुलाई सोध्दा उहाँहरुलेपनि यो भन्दा कति ठुला ठुला घटनाहरुको त केही हुदैन यहाँ अब हाम्रो सरकार भारत संग झन के बोल्न सक्छ ? आश गर्नु बेकार हो,भन्नु भयो त्यो सुनेरपनि अब न्याय पाउँछौ भन्ने आशा मरिसक्यो ।’

सरकारले हामीलाई १० लाख आर्थिक सहयोग गरेपनि स्थानिय तह तथा नेताहरुले भने पहिला सहयोग गर्छौ भनेर आश्वासन मात्र दिएको उनले बताए ।

‘यहाँका नेता र पालिकाले पहिला भाउजूलाई रोजगारी र नानी बाबुलाई निशुल्क शिक्षा,स्वास्थ्य दिने भन्नु भएको थियो ।’ नरेन्द्रले भने ‘तर अहिले सम्म सरकारले दिने भनेको १० लाख आर्थिक सहयोग बाहेक अरु केही पाएका छौनौँ, भाउजूलाई सानो रोजगारी मात्र दिइदिएको भएपनि धेरै राहत हुने थियो ।’

जयसिंहका एक छोरा,एक छोरी छन् । यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले धामीको परिवारको अवस्था ठिकै रहेको बताए ।

‘सरकारले धामीको परिवारलाई १० लाख आर्थिक सहयोग गरिसकेको छ ।’ सिडिओ जोशीले भने ‘अहिले परिवारको अवस्था सामान्य नै छ ।’ उनले अगाडी थपे ‘छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाइसक्यो र नेपाल सरकारले भारत सरकारलाई कुटनितिक पहल गरेको छ ।’

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार