काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) लाई १२१ रनमा समेटेको छ । दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएपछि नेपालले १२२ रनको सामान्य लक्ष्य पाएको हो ।
नेपालको कसिलो बलिङसामु यूएईका तीन ब्याटरले मात्र दोहोरो अङ्कमा रन जोड्न सके । यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन विकेट लिए भने राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे ।
आठ टोली सहभागी प्रतियोगिताको समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुवै पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा नेपाल भारत ‘ए’ सँग ३०६ रनले र यूएई पाकिस्तान ‘ए’ सँग ६१ रनले पराजित भएका थिए । नेपालले समूह चरणमा पाकिस्तान ‘ए’ विरुद्ध पनि खेल्ने तालिका छ ।






