भीमदत्त नगरपालिका स्तरीय १४ औँ राष्ट्रिपति रनिङ शिल्डको उपाधी पुनः सिद्धनाथ अमर माविलाई (फोटो हेर्नुहोस)

महेन्द्रनगर । भीमदत्त नगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० को उपाधि सिद्धनाथ अमर माध्यमिक विद्यालयले जितेको छ । महेन्द्रनगरस्थित कबड हलमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र १३ कास्य पदक जित्दै वडा नं. ११ गड्डाचौकीस्थित सिद्धनाथ अमर माविले नगस्तरीय १४ औँ राष्ट्रिपति रनिङ शिल्डको उपाधी हात पारेको हो ।

गत वर्ष सम्पन्न १३ औँ राष्ट्रिपति रनिङ शिल्डको उपाधी समेत सिद्धनाथ अमर माविले हात पारेको थियो । प्रतियोगितामा श्री पूर्णा माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ ।

वडा नं.१७ ऐरी स्थित पूर्णा माविले ६ स्वर्ण, ९ रजत र ३ कास्यपदक जितेको छ । यस्तै बैजनाथ माध्यमिक विद्यालयले ६ स्वर्ण, १ रजत र १ कास्य पदक जित्दै तृतिय स्थान हासिल गरेको छ । चार दिनसम्म सञ्चालन भएको प्रतितियोगितामा छात्र–छात्रा दुवै तर्फ भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, त्रिपलजम्प, कराँते, तेक्वान्दो, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्र्तगत लामो तथा छोटो दुरीका दौड लगायत विभिन्न विधाका खेल खेलाइएको थियो ।

प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरु जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुनेछन् । समापन कार्यक्रमका प्रमुख अथिति एवम् नगर उपप्रमुख नीलम लेखक जोशीले विजयी एवम् सहभागि खेलाडी,विद्यालयलाई बधाई दिदैँ पछिल्लो समय युवाहरु कुलतमा फस्ने दर बढेकोले युवाहरुलाई लागु औषधबाट जोगाउन खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउनु पर्ने बताइन् ।

भीमदत्त नगर खेलकुद समितिका अध्यक्ष सरद चन्दको अध्यक्षतामा सम्पन्न नगर स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रममा उपप्रमुख जोशी, लगाएत वडाध्यक्षहरु, वडासदस्यहरु,जिल्ला खेलकुद समितिका उपाध्यक्ष लगाएत विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगाएत विद्यार्थी खेलाडीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार