महेन्द्रनगर — महेन्द्रनगर जेसिजको आतिथ्यमा नेपाल जेसिज क्षेत्र ‘घ’ अन्तर्गतको क्षेत्रीय सम्मेलन महेन्द्रनगरमा हुने भएको छ । २०८२ असोज ३ र ४ गते हुने सम्मेलनको तयारी तिव्र रुपमा चलिरहेको बताइएको छ ।
सम्मेलनमा क्षेत्र ‘घ’ अन्तर्गतका करिब ७ सय युवा जेसिज सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
शनिवार सम्पन्न बोर्ड वैठकले सम्मेलनको निर्देशकको जिम्मेवारी महेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष जेसि कृष्ण प्रसाद पाठकलाई दिएको छ ।
नेतृत्व र अनुभवका आधारमा पाठकले सम्मेलनलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
महेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय सल्लाहकार जेसि पवन चन्द्र लेखकले सम्मेलनले क्षेत्रीय समन्वय, युवा क्षमताविकास र जेसिज अभियानलाई अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“महेन्द्रनगरजस्तो सक्रिय शाखाको आयोजना र नेतृत्वमा सम्मेलन हुनु आफैँमा उल्लेखनीय छ ।” उनले भने “यसले युवा सदस्यहरूलाई एकताको सन्देश दिनेछ ।”
कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।