महेन्द्रनगर । सुदूरपश्चिममै शैक्षिक गुणस्तरमा अगाडि रहेको ईन्टरनेशनल पब्लिक स्कुल स्वास्थ्य सेवाका अभियानमा पनि उदाहरणीय बन्दै गएको छ ।
विद्यालयले शैक्षिक गुणस्तरसँगै विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको समग्र स्वास्थ्यलाई ध्यानमा राख्दै नियमित रूपमा विभिन्न स्वास्थ्य शिविर समेत आयोजना गर्दै आइरहेको छ । यही अभियानको निरन्तरतामा शुक्रबार विद्यालय परिसरमै डेन्टल हेल्थ क्याम्प आयोजना गरिएको छ ।
केही सात अघिमात्र विद्यालयले (कान, नाक, घाँटी) सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । सम्पन्न भएको डेन्टल क्याम्पमा डा. रोशन भट्ट, डा. सुदीप भण्डारी, डा. मुना जोशी र डेन्टल हाइजेनिस्ट दिपा बिष्टको टोलीले १३३ जनाको निशुल्क दन्त परीक्षण गरेका थिए ।
तीमध्ये ५५ जना महिला र ७८ जना पुरुष सहभागी रहेको विद्यालयले जनाएको छ । चिकित्सकहरूका अनुसार केही सेवाग्राहीमा गम्भीर दन्त समस्या देखिएको थियो, जसको मुख्य कारण दन्त स्वच्छताप्रति लापरबाही र चेतनाको अभाव रहेको पाइएको छ ।
विद्यालयका सिनियर शिक्षक गौरव थापाका अनुसार यस्ता शिविरहरू सञ्चालनमा आफ्नै विद्यालयबाट एसईई पास गरेका र हाल चिकित्सकका रूपमा कार्यरत पूर्वविद्यार्थीहरूको महत्त्वपूर्ण सहयोग रहेको छ । उनका अनुसार हालसम्म करिब एक सय पूर्वविद्यार्थी चिकित्सक बनिसकेका छन् ।
स्वास्थ्य शिविरमा सहभागी शिक्षक तथा अभिभावकहरूले यस्ता गतिविधिबाट प्रत्यक्ष लाभ मिलेकाले विद्यालयप्रति खुसी र कृतज्ञता व्यक्त गरेका छन् । विद्यालयले आगामी दिनहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।