महेन्द्रनगर । सुदूरपश्चिमका प्रमुख सांस्कृतिक पर्वहरूमध्ये एक गौरा पवको आज प्रमुख दिन दुर्वाष्टमी एवम् अठ्यावाली मनाइदैँ छ । अष्टमीमा देवी गौरा र भगवान शिवको पूजा–आराधना विशेषरूपमा गरिन्छ ।
यस दिन बिहानै नुहाएर शुद्ध वस्त्र धारण गरी महिलाहरू उपवास बस्छन् र पूजा सामग्री तयार पार्छन् । पाँच प्रकारका अन्न (बिरुडा) र दुर्वा घासलाई पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ । दुर्वा घासको माला बनाई गौरा र महादेवलाई अर्पण गरिन्छ ।
दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको महत्व पुरुषले लगाउने जनैको जस्तै रहेको छ । पूजा सम्पन्न भएपछि महिलाहरू समूहमा भेला भई देवरो भजन, लोकगीत र नाचगान गर्ने गर्छन् । यस दिनको पूजा र भजनमार्फत दाम्पत्य जीवनमा सुख–शान्ति, सन्तान सुख, परिवारको दीर्घायु र समृद्धिको कामना गरिन्छ ।
गौरा पर्व भाद्र कृष्ण पञ्चमीदेखि प्रारम्भ भई दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन सम्पन्न हुन्छ । पहिलो दिन पञ्चमीलाई बिरुडापञ्चमी पनि भनिन्छ । यस दिन गहुँ, गहत, मास, गुराउँस र केराउ मिसाएर पाँच अन्नको बिरुडा भिजाउने परम्परा छ । यही बिरुडाले गौरा देवी र महेश्वरको पूजाआजा गरिन्छ । विवाहित महिलाहरूले दुबधागो धारण गर्ने र दीर्घायु, समृद्धि तथा स्वास्थ्यको कामना गर्ने गर्छन् ।
षष्ठीका दिन बिरुडा नजिकको कुवा वा धारामा लगेर धुने चलन छ भने सप्तमीका दिन गौरालाई घरभित्र्याउने गरिन्छ । वनस्पतिहरूबाट गौराको प्रतिमूर्ति बनाइने र मुख्य दिन आज (आइतवार) अठ्यावालीमा व्रतालु महिलाहरूले फाग र सगुन गाउँदै गौरादेवीको पूजाआजा गर्छन् ।
पूजापछि बिरुडाको प्रसादले श्रीमान्, छोराछोरी र आफन्तजनको टाउको पुज्ने परम्परा रहिआएको छ । पर्वको अन्तिम दिन विभिन्न गाथा गाइने, ठाडो खेल, ढुस्को र धमारी जस्ता सांस्कृतिक खेलहरू सहित गौरादेविको प्रतिमा तथा पुजित सामाग्रीको विसर्जन गरिन्छ ।
सुदूरपश्चिम सहित कञ्चनपुरमा समेत केहीदिन देखी गौराको रौनक बढेको छ । रोजगारी तथा अध्ययनका लागि विदेश एवम् घरबाट टाढा गएकाहरु घर फर्किएपछि गाउँघरमा रौनक छाएको छ । महेन्द्रनगर बजारमा लुगा कपडा किन्नेहरुको चहलपहल समेत बढेको स्थानीय व्यपारीहरुले बताएका छन् ।
‘गौरा शुरु भएसंगै अहिले बजारमा चहलपहल भएको छ ।’ महेन्द्रनगरका स्थानिय व्यपारी केशव भट्टले भने ‘तीज लगतैँ गौरा शुरु भएपछि केही दिनदेखी बजारमा चहलपहल बढेको हो ।’ यस्तै बसपार्कमा समेत घर फर्निनेहरुको चाप बढेको छ । कञ्चनपुरका अधिकांश सार्वजनिक स्थान मठमन्दिरहरुमा यतिबेला पुजा आरधना सहित गौराको अवसरमा विभिन्न सांस्कृतिक एवम् देउडा समेत खेलिन थालिएको छ ।


