काठमाडौं: हालैको आन्दोलनका कारण ठूलो क्षति भोगेको भाटभटेनी सुपरमार्केटले आफ्नो मनोबल उच्च रहेको र फेरि उठ्ने संकल्प गरेको जनाएको छ। सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै भाटभटेनीले ग्राहकहरूको साथ र समर्थनले आफूहरूलाई थप ऊर्जा मिलेको उल्लेख गरेको छ।

सुपरमार्केटले आफ्नो पोस्टमा लेखेको छ, “हाम्रो भाटभटेनी परिवारले भोगेको विनाश असीमित भए पनि, फेरि उठ्ने हाम्रो संकल्प झनै बलियो छ।” कम्पनीले हरेक शब्द, हरेक इशारा र हरेक सहयोगी हातले आफूहरूलाई अगाडि बढ्न मद्दत गरेकोमा ग्राहकहरूलाई धन्यवाद दिएको छ।
भाटभटेनीले ग्राहकहरूको साथमा मिलेर भविष्यलाई थप उज्यालो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। यो पोस्टले कम्पनीले भोगेको नोक्सानीका बाबजुद पनि आफ्नो व्यापार र ग्राहकसँगको सम्बन्धलाई निरन्तरता दिने दृढता देखाएको छ।
भाटभटेनीका विभिन्न शाखामा आन्दोलनकारीले तोडफोड र लुटपाट गर्दा करोडौंको क्षति भएको थियो। यस घटनापछि धेरै व्यक्तिहरू पक्राउ परेका छन् र कम्पनीले आफ्नो क्षतिको बीमा दाबी पनि गरेको छ।